ललितपुर - निर्माणाधीन सुटिङ हलमा श्रेया केसी खेलको बीचैमा अत्तालिइन् । १० मिटर एयर पेस्तोलको पहिलो चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेकी श्रेयाको अनुहार एक्कासि मलिन बन्यो ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा सुटिङतर्फ नेपालको प्रतिनिधित्व गरेकी श्रेया ४० गोली प्रहार गर्दासम्म चौथो स्थानमा थिइन् । ६० गोली प्रहार गर्ने यस स्पर्धामा श्रेयाले जसोतसो ४६ गोलीसम्म हानिन्, त्यसपछि पेस्तोल चलेन। बीचबाटै स्पर्धा छाड्नुपर्ने अवस्था आयो । तर पनि उनले हरेस खाइनन्, अर्का खेलाडी विपेश खड्काको हतियार मागेर स्पर्धा पूरा गर्ने हिम्मत गरिन् तर यति बेलासम्म ढिलो भइसकेको थियो ।

फाइनल चरण पुग्ने अभिलासाका साथ सुरुबाटै अग्रता लिएकी श्रेयालाई पेस्तोलकै कारण अघिल्लो चरण प्रवेशको ढोका बन्द भयो। अनि उनको मनमा पनि सन्नाटा छायो । खेललाई नै जीवन अर्पण गरेकी श्रेया यसबारेमा बोल्न चाहिनन् । उनी हतियारबाट धोका पाएपछि खेलस्थलमा नै छटपटाइरहिन् । अन्य देशका खेलाडी सुट गरिहेका थिए । उनी गहभरि आँसु पारेर उनीहरुको खेल हेरिरहेकी थिइन् ।

वातावरण निकै असहज बनेपछि एक प्रतिनिधिले उनलाई ‘यहाँ विदेशीसामु बेइज्जती नगरौं बरु खेल्न नै छाडौँ भनी सम्झाउँदै त्यहाँबाट अन्यत्र लगे । फाइनल स्पर्धामा पुग्ने सम्भावना हुँदाहुँदै हतियारकै कारण उनले खेल छाड्नुप-यो ।

बीचमै हतियारले काम गर्न छाडेपछि बाँकी १४ गोली प्रहार गर्न नपाई समय सकियो ।

 नागरिक दैनिकबाट