प्रहरी ऐन संशोधन, दुई बुँदा हेरफेर
काठमाडौं - सरकारले नेपाल प्रहरी ऐन २०१२ संशोधन गरेको छ । केही नेपाल ऐन संशोधनमार्फत ७७ वटा कानून एकैपटक संशोधन गरिएकोमा प्रहरी ऐन पनि त्यसमा परेको छ ।
बुधबार राजपत्रमा प्रकाशित भएको ऐनअनुसार दुई वटा बुँदामा हेरफेर गरिएको छ । दफा १५ को उपदफा १(ट) संशोधन गरिएको छ । जून प्रहरी कर्तव्यसँग सम्बन्धित विषय छ। जसमा संशोधन गरी राखिएको छ,‘सेवाग्राही लगायत सबैसँग शिष्ट र मर्यादिन व्यवहार गर्ने ।’
यसअघि सो बुँदामा ‘सर्वसाधरण जनतासँग शिष्ट व्यवहार गर्ने र स्वास्नी मानिस र केटाकेटीसँग व्यवहार गर्दा पूरा इज्जत र मनासिब नम्रतासाथ व्यवहार गर्ने’ उल्लेख थियो ।
स्वास्नी मानिस भन्ने शब्दमा कतिपयले आपत्ति जनाएपछि यो बुँदा संशोधन गरिएको हो । त्यस्तै, दफा ३६ को उपदफा १(ख)मा रहेको बिशेष अदालतसम्बन्धि प्रावधानमा यसअघि क्षेत्रीय प्रहरी बिशेष अदालत रहेकोमा त्यसलाई संशोधन गरी प्रदेश प्रहरी बिशेष अदालत कायम गरिएको छ ।
प्रहरी नायब निरीक्षकदेखि प्रहरी नायब उपरीक्षकसम्म कारबाहीका लागि प्रदेश प्रहरी बिशेष अदालतबाट निर्णय हुनेछ। नयाँ संघीय प्रहरी ऐन आउन भने समय लाग्ने भएको छ ।
राज्य व्यवस्था समितिमार्फत फाष्ट ट्रयाकमा ऐन ल्याउने प्रयास भएपनि निजामती सेवा बिधेयधक कुलिङ पिरियडसम्बन्धि प्रावधानको विवादका कारण समितिको बैठक नै रोकिएपछि प्रहरी ऐन पनि रोकिएको हो । अब हिउँदे अधिवेशनमा मात्र नयाँ ऐन आउने सम्भावना छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस