जाँचबुझ आयोगको म्याद फेरि २५ दिन थप
काठमाडौं - सरकारले जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो पटक सो आयोगको म्याद थप गर्ने निर्णय गरेको हो ।
सो आयोगको दोस्रो पटक थप गरिएको म्याद माघ २८ गते बुधवार सकिँदैछ । सो आयोगको म्याद पुनः थप गर्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । उनले भने, ‘नेपाल सरकार मन्त्रिपरिषदको २०८२ असोज ५ गतेको निर्णय अनुसार भदौ २३ र २४ गतेको प्रर्दशनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय गरियो ।’
सरकारले गत असोज ५ गते जेनजी आन्दोलनको क्रममा भएको भौतिक तथा मानवीय क्षतिको घटनाको छानविन गर्न विशेष अदालतका पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो ।
३ महिनाको कार्यादेशसहित गठित सो आयोगले आफ्नो काम पूरा गर्न नसकेपछि पुस ८ गते बसेको मन्त्रिपरिषद बैठकले एक महिनाको लागि आयोगको म््रयाद थप गरेको थियो । आयोगले आफनो काम पूरा गर्न नसकेपछि माघ ८ गते बसेको मन्त्रिपरिषद बैठकले पुन २० दिन आयोगको म्याद थप गरेको थियो । तर दोस्रो पटक थपिएको समयावधि भित्र पनि आयोगले आफनो प्रतिवेदन बुझाउन नसकेपछि पुन तेस्रो पटक २५ दिन सरकारले म्याद थप गरेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस