काठमाडौं - भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार बिहान नेपाल ल्याइएको छ। जुन खोपले सातै प्रदेशका ४ लाख ५० हजार जनालाई पुग्ने अनुमान गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १० लाख डोज खोप भण्डारण गरिएको जानकारी दिए। यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेट तापक्रममा भण्डारण गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले अनुदानमा उपलब्ध भएको खोप ५ लाख जनालाई पुग्ने अपेक्षा गरिए पनि केही खेर जान सक्ने बताए। ‘अलिअलि खेर जान पनि सक्छ। खेर गएको अवस्थामा ४ लाख ५० हजारलाई खोप पुग्ला’, उनले भने। यो खोप दुई साताभित्र पहिलो डोज लगाउने तयारी छ।

अन्नपूर्ण पोष्ट दैनिकबाट