काठमाडौं - शाहिद कपुरको फिल्म कबिर सिंहले बक्स अफिसमा लगातार धमाका मच्चाइरहेको छ । सो फिल्मले रिलिज भएको दोस्रो शुक्रबार पनि झन्डै १३ करोड भारतीय रुपैयाँ व्यापार गर्‍यो । अब शनिबार र आइतबार बिदाको फाइदा पनि पुग्ने देखिएको छ ।

अघिल्लो शुक्रबार रिलिज भएको फिल्म ‘आर्टिकल १५’ले खासै राम्रो बक्स अफिस कलेक्सन गर्न नसकेपछि कबिर सिंहले यो साता पनि राम्रो कमाइ गर्ने आकलन गरिएको छ ।

कबिर सिंहले अहिलेसम्म एक सय ४५ करोडको व्यापार गरिसकेको छ । शनिबारको कलेक्सनले एक सय ५० करोडको कोसेढुंगा पार गर्ने पक्कापक्कीजस्तै छ । दोस्रो सातासम्ममा फिल्मले दुई सय करोडको कोसेढुंगा पार गर्ने अनुमान ट्रेड एनालिस्टले गरेका छन् । सो फिल्म साउथ फिल्म अर्जुन रेड्डीको रिमेक हो ।

फिल्मका निर्देशक सन्दीप बंगा छन् । फिल्ममा शाहिद कपुरको साथमा कियरा आडवाणी मुख्य भूमिकामा छिन् । सय करोड क्लबमा पुग्ने शाहिदको यो पहिलो फिल्म हो ।