काठमाडौं - अछाममा छाउगोठ भत्काउने अभियानले तीव्रता पाएको छ । जिल्लाका १० स्थानीय तहका ९१ वडा र प्रत्येक टोलमा छाउगोठ भत्काउने अभियान अघि बढेको हो । गत मंसिर १५ मा साँफेबगर–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको छाउ बार्न गोठमा बसेका बेला मृत्यु भएको थियो ।

उक्त घटनापछि गृह मन्त्रालयको निर्देशनमा प्रहरीको नेतृत्वमा छाउगोठ भत्काउन थालिएको हो । भत्काउने अभियानको सुरुवात साँफेबगर नगरपालिकाले गरेपछि अन्य नौवटा स्थानीय तहले पनि चासो देखाएका हुन् ।

महान्यायाधिवक्ताको कार्यालय, प्रहरी हेडक्वार्टर र गृह मन्त्रालयले छाउगोठ नष्ट गर्नु, जनचेतनाका कार्यक्रम सँगसँगै गर्नु र अटेर गर्नेलाई कारबाही गर्नु भन्ने लिखित निर्देशन दिएको अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए । स्थानीयस्तरमा पटकपटक छलफल गर्दा र कानुनका बारेमा जानकारी दिँदा पनि छाउगोठमा मृत्यु हुने क्रम नरोकिएपछि प्रहरी र प्रशासनले नेतृत्व लिनुपरेको उनले बताए ।

‘१० वटै स्थानीय तहका सरोकारवालासँग सर्वदलीय बैठक गर्दैछौं । कहिलेसम्म छाउगोठ हटाइसक्ने भन्नेबारे छलफल थालेका छौं,’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘अटेर गर्नेलाई कारबाही गर्ने र सेवा सुविधा रोक्न सक्ने अवस्था पनि आउने देखिन्छ ।’

स्थानीयसँगको सहकार्यमा एक सातामा अछामका विभिन्न ठाउँमा हालसम्म ५ सय ४५ वटा छाउगोठ भत्काइएको प्रहरी प्रमुख डीएसपी दीपक भारतीले बताए । ‘मनमा बसेको कुरा हट्न समय लाग्ने देखिन्छ । तर स्थानीयको साथले मात्रै छाउगोठ भत्काउन सम्भव भएको हो,’ उनले भने । 

कान्तिपुर दैनिकबाट