काठमाडौं  - बी एन्ड सी अस्पताल झापाका सञ्चालक दुर्गा प्रसाईं सुटुक्क जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका छन् ।

मानहानिको मुद्दामा फरार रहेका प्रसाई बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय भक्तपुरमा हाजिर भएको जिप्रका भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।

पाण्डेले भनिन्, ‘प्रसाईं बिहीबार जिप्रका भक्तपुरमा हाजिर हुनुभएको हो ।’ त्यसलगत्तै प्रसाईं साधारण तारेखमा रिहा भएको पनि बताइएको छ ।

प्रसाईंले गत पुस २३ गते पत्रकार सम्मेलन गरेर आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका थिए। त्यसलगत्तै उपाध्यक्ष गिरीले जिल्ला अदालत भक्तपुरमा प्रसाईंको आरोपविरुद्ध मानहानिको मुद्दा दायर गरेका थिए। अदालतले पक्राउ पूर्जी जारी गरेपछि प्रसाईं फरार रहँदै आएका थिए ।