मौसम : पूर्व र मध्यमा अपरान्हपछि वर्षाको सम्भावना
काठमाडौं - जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालको पुर्वी भूभाग नजिक निम्न चापीय प्रणाली रहेको छ । हाल देशको मध्य तथा पूर्वी पहाडी भूभागमा आशिंकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी तराई भूभागमा हुस्सु र कुहिरो लागिरहेको छ ।
पश्चिमी भूभागको थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि बादल लागेको छ । आज दिउँसो देशको पूर्वी भूभाग लगायत मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
पूर्वी तथा मध्य पहाडी भू-भागका एक दुई स्थानमा अपरान्ह पश्चात हल्का बर्षाको सम्भावना रहेको छ । शुक्रबार राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले निकालेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
तराईका केहि स्थानहरुमा हुस्सु र कुहिरोका कारण घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस