कोटेश्वरमा ओली र नेपाल पक्षका नेताहरुबीच छलफल जारी, के आउला निष्कर्ष ?
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल कार्यदल नै बनाएर छलफलमा जुटेका छन् ।
अध्यादेश प्रकरणपछि पार्टीभित्र चुलिएको असन्तुष्टि, अन्तरविरोध व्यवस्थापन गर्न दुबै पक्षका नेताहरु कार्यदल नै बनाएर छलफलमा जुटेको स्रोतले बताएको छ ।
दुवै पक्षका नेताहरूबीच छलफल सुरु हुनुअघि प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच बालुवाटारमा छुट्टै छलफल भएको छ । भेटमा ओलीले आफू मिलेर जान तत्पर रहेको ठोस प्रस्ताव ल्याउन भनेका थिए । त्यसलगत्तै दुई समूह कार्यदल नै बनाएर नेपाल निवास कोटेश्वरमा जुटेका हुन् ।
स्रोतका अनुसार छलफलमा ओली पक्षबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी छन् । नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी छन् ।
मुख्यमन्त्री पोखरेल, परराष्ट्रमन्त्री ज्ञवालीलगायतका नेताहरूले ओलीको सन्देश लिएर नेपालसँग दुई दिनयता छलफल गरेका थिए । नेपालनिकट स्थायी समितिका नेताहरूको आइतबारको भेलाले पटकपटक धोका भएका कारण ओली पार्टी सञ्चालनको विधि र प्रक्रियासहित प्याकेज सहमतिका लागि तयार नभए अध्यक्ष प्रचण्डसँगै मिलेर अघि बढ्न दबाब दिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस