काठमाडौं - पछिल्लो १० वर्षमा बैंकका कर्मचारीकै मिलेमतोमा २२ अर्बभन्दा धेरै अनियमितता भएको छ । यो अवधिमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुरमा ५२ बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कर्मचारीसहित हजारभन्दा धेरैविरुद्ध मुद्दा चलाएको छ । उनीहरूसँग २२ अर्ब ६ करोड आठ लाख ४६ हजार आठ सय ३४ रुपैयाँबराबरको बिगो दाबी गरिएको छ । 

हाल सीआईबीले नेपाल बैंकका नवौं तहका कर्मचारी भूपराज कोइरालाले गरेको करिब ६० लाख अनियमितताको घटनामा छानबिन गरिरहेको छ ।

दुई महिनाअघि ब्युरोले बैंक अफ काठमाण्डूका पूर्वसिइओ अजय श्रेष्ठसहितका कर्मचारीविरुद्ध दुई करोड ५० लाख बिगोको मुद्दा दायर गरेको थियो । श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन् । खोलाको जग्गालाई राजमार्गछेउको भनेर कर्जा दिई अनियमितता गरेको भन्दै प्रहरीले मुद्दा चलाएको थियो । 

देवः विकास बैंकको घोराही शाखामा पनि कर्मचारीकै मिलेमतोमा १८ करोड अनियमितता भएको थियो । त्यसमा गत महिना मात्र प्रहरीले मुद्दा दायर गरेको छ ।बैंकका प्रबन्धक समीर बुढाथोकीकै योजनामा बैंकभित्र अनियमितता भएको थियो । ०६८ देखि सीआईबीले बैंकिङ कसुर अनुसन्धान थालेको हो । नयाँ पत्रिका दैनिकबाट