काठमाडौं- सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले स्थानीयलाई निष्कासन गरिएको कुल १५ लाख ३७ हजार ५२५ कित्तामध्ये ९१ हजार ३० कित्ताका लागि मात्र आवेदन परेको छ । सीडीएसका अनुसार मंगलबारसम्म ४५८ जनाले आवेदन दिएका छन् । उनीहरुले २ करोड ४ लाख ८१ हजार ७५ रुपैयाँ बराबरको आवेदन दिएका हुन् ।

यता, स्थानीयलाई निष्कासन गरिएको १४ लाख ४६ हजार ४९५ कित्ता सेयर बिक्री हुन अझै बाँकी रहेको छ । अब बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिनेछ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले आज कार्यालय समयभित्र मात्र आइपीओमा आवेदन दिन मिल्ने व्यवस्था गरिएको थियो । सोनापुर मिनरल्सले साउन २९ गतेदेखि प्रिमियममा आईपीओ निष्कासन गरेको हो ।

यसले फेस भ्याल्यू १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ जारी गरेको हो । उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरुले आवेदन दिन मिल्ने थियो । स्थानीय बसिन्दाले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मको लागि आवेदन दिन मिल्ने व्यवस्था गरिएको थियो । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ । क्रेडिट रेटिङ नेपालले सोनापुर मिनरल्सको आईपीओलाई केयर एनपी त्रिपल बी माइनस इस्यूआर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ ।