निर्वाचन: ४ करोड मतपत्र छापिँदै, फागुन १० गतेसम्म सबै जिल्लाहरुमा पठाइने
काठमाडौं - निर्वाचन आयोगले फागुन २१ को निर्वाचनका लागि करिब ४ करोड संख्यामा मतपत्र छाप्ने तयारी गरेको छ ।
आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायण प्रसाद भट्टराईले मतपत्र छाप्ने संख्याबारे जानकारी गराएका हुन् ।
उनका अनुसार छापिएपछि मतपत्र फागुन १० गतेसम्म सम्बन्धित सबै जिल्लामा पठाइसक्ने लक्ष्य लिइएको छ । मतपत्रको साइज अझै अन्तिम टुङ्गोमा नपुगेकाले छपाइ खर्च कति लाग्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने आयोगले जनाएको छ ।
प्रत्यक्षतर्फको मतपत्र भने निर्वाचन क्षेत्रअनुसार फरक–फरक हुने भट्टराईले बताए ।
यस्तै आयोगमा समानुपातिकतर्फ बन्द सूची पेस गरेका राजनीतिक दलको चुनाव चिह्न मात्रै मतपत्रमा रहने भएको छ ।विगतमा दल दर्ताको आधारमा मतपत्रमा चुनाव चिह्न राख्ने अभ्यास रहेता पनि यसपटक त्यस्तो नगर्ने भट्टराईले बताए ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फ ९३ वटा चुनाव चिह्नमा १०० दलले चुनाव लड्ने भनेर दल दर्ता गरेका थिए ।
समानुपातिक तर्फको बन्द सूची बुझाउँदा ६४ दलले ५८ वटा चुनाव चिह्नमा निर्वाचन लड्ने गरी सूची निर्वाचन आयोगका पेश गरेका छन् । जसमा १० वटा दलले एकल चुनाव चिह्नमा चुनाव लड्ने तयारी गरेका छन् ।
जसअनुसार यसपटक समानुपातिक तर्फको मतपत्रमा ५८ वटा चुनाव चिह्न हुनेछ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस