काठमाडाैं - लप्सीफेदी–रातमाटे–दमौली–बुटवल प्रसारण लाइन नेपालको हितमा भएकोले अनावश्यक टिप्पणी नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् । 

पछाडिको ढोकाबाट एमसीसी छिराउन खोजिएको भन्ने सांसद भीम रावलको टिप्पणीको संसद्मा जवाफ दिँदै प्रधानमन्त्री ओलीले यो प्रसारण लाइन नेपाललाई नभई नहुने भएकोले बनाउनैपर्ने बताए । 

‘यो प्रसारण लाइन पछाडिको ढोकाबाट होइन, अगाडिकै ढोकाबाट बनाइन्छ । एमसीसीले बनाए उसैले बनाउँछ । नत्र हामीले बनाउँछौँ । यो प्रसारण लाइन नबने सयौँ मेगावाट बिजुली खेर जान्छ,’ ओलीले भने । 

एमसीसीको निष्कर्ष नेताले नभई संसदले निकाल्नुपर्ने बताए । अघिल्लो सरकारले एमसीसीबारे धेरै निर्णय गरेको र यो सरकारले उत्तराधिकारीको रुपमा एमसीसीलाई संसदमा प्रस्तुत गरेको ओलीको भनाइ छ । 

यो प्रस्ताव अहिलेको सरकारले नभई अघिल्लो सरकारले गरेको तर अहिलेको सरकारले त्यो निर्णय मान्दिन भन्न नमिल्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय विश्वसनीयताको कुरा पनि रहेको भन्दै ओलीले सम्झौता गर्ने बेलामा राष्ट्रिय हितको पक्षमा होसियार र सावधान हुुनुपर्ने बताए ।  एमसीसी पास गर्ने कि नगर्ने कुरा सदनले निर्णय गर्नुपर्ने प्रधानमन्त्रीले बताए ।