रास्वपाको महामन्त्री दाबी गर्दै सर्वोच्च पुगेका मुकुलको रिटमाथि सुनुवाइ हुँदै
काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निलम्वित डा.मुकुल ढकालले आफू नै रास्वपाको महामन्त्री भएको दावी गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ ।
न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ ।
ढकालले आफू नै रास्वपाको महामन्त्री रहेको र सोही हैसियतमा काम गरिपाउँ भन्दै असार १३ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, महामन्त्री कविन्द्र बुर्लाकोटी, पार्टीको प्रवक्ता मनिष झा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिवादी बनाउँदै रिट दायर भएको छ ।
ढकालले आफूलाई कारवाही गर्ने पार्टीको निर्णयविरुद्ध निर्वाचन आयोगमा पनि निवेदन दिएका छन् । आफ्नो कारवाहीबारे पार्टीको कुनै पनि पत्र अद्यावधिक नगर्न आयोगलाई भनेका छन् ।
पार्टी अनुशासन विपरीत अभद्र र अमर्यादित व्यवहार प्रदर्शन गर्नुको साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै रास्वपाले एक वर्षअघि उनलाई महामन्त्री, केन्द्रीय सदस्य र साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको थियो ।
पार्टीले आफूलाई गरेको कारवाही अवैधानिक भएको उनको दावी छ ।
फेसबुक पेज Like गर्नुहोस