काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पनि बढाएको छ । डिजेलको भाउ प्रतिलिटर २१ रूपैयाँले बढेपछि व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको हो ।

अन्तरप्रदेश चल्ने सवारीको भाडा ४.७० प्रतिशतले बढेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । अन्तरप्रदेश चल्ने गाडीको भाडादर समायोजन यातायात व्यवस्था विभागले नै गर्ने गर्छ ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशतले थपघट भएमा सवारी भाडा दर पनि समायोजन हुने गर्छ ।

काठमाडौं–काकटभिट्टाको नयाँ भाडादर १ हजार ७२५ कायम भएको छ। यसअघि त्यसरूटको सवारी भाडा १ हजार ६४८ थियो। काठमाडौं–कैलालीको अत्तरिया–डडेलधुरा हुँदै वैतडीसम्मको नयाँ भाडा २ हजार ६ सय २८ कायम भएको छ । यसअघि त्यस रुटको भाडादर २ हजार ५१० थियो ।

काठमाडौं–अत्तरिया हुँदै बझाङको चैनपुरसम्मको भाडा ३ हजार १५ रूपैयाँ तोकिएको छ । यसअघि त्यस रूटमा २ हजार ८८० भाडादर थियो ।