काठमाडौं- राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारमा सहयोगका लागि एक करोड ४५ लाख रुपैयाँ सहयोग जुटेको जानकारी गराएकी छन् । अब आजैबाट आफ्नो अकाउन्टमा सहयोग बन्द गर्न उनले अपिल गरेकी छन् । साम्बाले आफूलाई खुट्टामा लागेको चोटको उपचारारार्थ सहयोग अपिल गरेकी थिइन् । पछिल्लो २४ घन्टामा नै उनलाई करिब डेढ करोड सहयोग जुटेको हो । उनले सबैलाई धन्यवाद दिएकी छन् ।

‘आर्थिक रुपमा त यहाँहरुले मेरो उपचारका लागि लाग्ने खर्च जुटाइदिनु भयो नै, मैले पाएको साथ र वाचाले मलाई अझ बलियो बनाएको छ । यहि उर्जाले म आफ्नो शल्यक्रिया र पुनस्र्थापनामा शत प्रतिशत मिहिनेत गर्नेछु,’ उनले फेसबुकमा लेखेकी छन्, ‘खेलाडीका रूपमा मैले आजसम्म कमाएको सबैभन्दा ठूलो सम्पत्ति पैसा र उपाधि होइन, यो माया, भरोसा र समर्थन भन्ने मैले फेरी एकपटक ह्रदयदेखि बुझेको छु । यही नै मेरो वास्तविक कमाइ हो।’

आफ्नो उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको साम्बाले जानकारी गराएकी छन् । साथै, आफूलाई प्रायोजन गर्ने संस्था र अन्य नेपालका धेरै संघ–संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गरेको उनी बताउँछिन् ।

‘यसले मेरो उपचार खर्च मात्र नभएर, कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ । कतारमा रहनुहुने विभिन्न व्यक्तित्व र संस्थाले पनि सहयोगको वाचा गर्नुभएको छ । त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु,’ उनी भन्छिन् । आफूआवद्ध क्लब वेलिंगटन फिनिक्सले पनि शल्यक्रिया र पुनस्र्थापनाका लागि विमा रकम निकासा गरी त्यसमा थप सहयोग गरेर उपचारमा सहजीकरण गरिरहेको सम्बाले जानकारी दिएकी छन् । चाडैं नै शल्यक्रिया मिति पाएर प्रक्रिया अघि बढ्ने विश्वास उनको छ ।

‘यो चोटले मलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि थकाएको थियो, तर तपाईंहरूको साथले मलाई फेरि उठ्ने साहस दिएको छ। म एक्लो छैन भन्ने विश्वास दिएको छ,’ उनले भनेकी छन्, ‘म दृढ संकल्पका साथ भन्छु, म फर्कनेछु । अझ मजबुत भएर फर्कनेछु । पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु । देशको लागि, तपाईंहरूको लागि, र त्यो विश्वासको लागि जसले मलाई अघि बढाएको छ ।’