गगन थापाको प्रश्न– राष्ट्रपतिलाई श्री ६ बनाउने रहर मन्त्रीलाई किन पलायो ?
काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बजेटमा समेटेका कार्यक्रमप्रति प्रश्न उठाएका छन् ।
आइतबार प्रतिनिधिसभा संसदमा बोलेका सांसद थापाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम संघीयता विरोधी रहेको बताए ।
‘शिक्षामन्त्रीलाई सोध्न मन लागेको छ, राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो ?,’ उनले प्रश्न गरे, ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम भनेर हिजो राजाले बक्सिस मारेकोजस्तो राष्ट्रपतिले खुट्टा टेकेको ठाउँमा मनलाग्दै गर्दा पैसा दिन पाउने कार्यक्रम संघीयता, संविधान र व्यवस्थाविरोधी छ।’
उनले अघि भने, ‘यो कार्यक्रम बनाउँदै गर्दा ईडीसीडीमा तलब नपाएर बसेका सहर्जकर्ता, विद्यालयका कर्मचारी, भोक्कै बसेका आंशिक प्राध्यापकहरुको याद आएन ?’
शिक्षा मन्त्रालयको अध्ययनले ५७ हजार शिक्षक अभाव भएको देखाए पनि त्यसअनुसार बजेट नआएको बताए । उनले अघि भने, ‘तर एकजना शिक्षक राख्न नसकेको शिक्षक स्वयमंसेवक कार्यक्रममा १ अर्ब ५० करोडबाट बढाएर २ अर्ब २३ करोड बनाउने ?’
बजेट हेर्दा शिक्षा मन्त्रालयले अहिले ९० लाख विद्यार्थी विद्यालय गइरहेका छैनन् भन्ने थाहै नपाए जस्तो लागेको सांसद थापाले बताए ।
‘छात्रबृत्ति तीन अरबबाट किन दुई अरब बनाएको ?,’ उनले भने, ‘शिक्षा मन्त्रालयले बजेटले नचिन्ने कार्यक्रमलाई किन निरन्तरता दिएकोरु दाताको पैसा कतिञ्जेल चल्छ?’

.gif)



फेसबुक पेज Like गर्नुहोस