एजेन्सी - इजरायल र लेबनानबीच तीन दशकभन्दा बढी समयपछि प्रत्यक्ष कूटनीतिक वार्ता भएको छ । जसलाई क्षेत्रीय शान्तिका लागि महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।

यो वार्ता अमेरिकाको पहलमा सम्पन्न भएको हो । अमेरिकी विदेशमन्त्री मार्को रुबियो ले यसलाई “ऐतिहासिक अवसर” को संज्ञा दिँदै यसबाट हिजबुल्लाह को प्रभाव अन्त्यतर्फ महत्वपूर्ण प्रगति हुन सक्ने बताएका छन्।

वार्ताको मुख्य उद्देश्य इजरायल र इरान समर्थित हिजबुल्लाहबीच जारी द्वन्द्व अन्त्य गर्नु रहेको जनाइएको छ। यद्यपि, लेबनानले भने देशमा गहिरिँदै गएको मानवीय संकटलाई ध्यानमा राख्दै तत्काल युद्धविराम र ठोस कदम चाल्न माग गरेको छ।

दुवै देशबीच औपचारिक कूटनीतिक सम्बन्ध नभएकाले यस्तो स्तरको प्रत्यक्ष वार्ता सन् १९९३ पछि पहिलोपटक भएको हो।

यसबीच, मार्च २ देखि सुरु भएको इजरायली सैन्य कारबाहीमा हालसम्म दुई हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। उक्त कारबाही अमेरिका र इजरायलले इरान माथि आक्रमण गरेको केही दिनपछि सुरु भएको थियो।

वार्ताकै क्रममा मंगलबार हिजबुल्लाह ले इजरायल र लेबनानमा तैनाथ इजरायली सेनामाथि कम्तीमा २४ वटा आक्रमणको जिम्मेवारी लिएको जनाएको छ, जसले वार्तासँगै तनाव अझै कायमै रहेको संकेत दिएको छ।

इजरायलले भने आफ्नो सैन्य अभियान हिजबुल्लाहलाई कमजोर पार्ने र अन्ततः समाप्त पार्ने रणनीतिअन्तर्गत अघि बढाइएको स्पष्ट पारेको छ।