काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह को संयुक्त हस्ताक्षर रहेको भनी नरेन्द्र मोदी लाई सम्बोधन गरिएको भनिएको पत्र ‘पूर्णतः नक्कली, किर्ते र कपोलकल्पित’ भएको स्पष्ट पारेको छ ।

पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल ले शुक्रबार जारी गरेको विज्ञप्तिमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रसारित उक्त पत्र तथा त्यससम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, 'सार्वजनिक गरिएको उक्त पत्र पूर्णतः नक्कली, किर्ते र कपोलकल्पित रहेको हामी स्पष्ट पार्न चाहन्छौँ। दुई जिम्मेवार व्यक्तिहरूको नाम जोडेर परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा यस्ता अनर्गल र आधारहीन भ्रम फैलाउनु अत्यन्तै निन्दनीय कार्य हो।'

रास्वपाले आगामी फागुन २९ गते हुन गइरहेको आम निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक लाभ लिने तथा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धमा खलल पुर्‍याउने उद्देश्यले यस्तो प्रायोजित प्रचारबाजी गरिएको दाबी गरेको छ। पार्टीका अनुसार निर्वाचनको मुखमा फैलाइने यस्ता सामग्रीले सामाजिक सद्भाव र अन्तर्राष्ट्रिय सम्बन्धमा नकारात्मक प्रभाव पार्न सक्छ।

विज्ञप्तिमार्फत रास्वपाले द्विपक्षीय सम्बन्ध र सामाजिक सद्भावमा आँच आउने खालका कुनै पनि सामग्रीलाई स्थान नदिन सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ। साथै, आम नागरिकलाई पनि फेक न्युज र भ्रामक प्रचारप्रति सचेत रहन अपिल गरिएको छ।