काठमाडौँ - चारपटक देशको प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी भिड तताउने मेसोमा राष्ट्रियताको विषयमा गम्भीर अभिव्यक्ति दिएका छन् ।

देउवाले कास्की–२ को चुनावी भेलालाई शनिबार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीको स्वीकृतिमै भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेको आरोप लगाएका हुन् ।

‘ओलीले भारतसँग केही भित्री सल्लाह गरेरै त्यो नक्सा छापेर निस्केको हो । भारतले त्यसै छापेकै होइन, ओलीसँग सल्लाह गरेरै छापेको हो । ओलीको सहमतिविना त छाप्नै सक्दैन,’ देउवाले भने ।

देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद लिपुलेक र कालापानीमा घुँडा टेक्दै लम्पसारवादमा परिणत भएको पनि टिप्पणी गरे ।

‘ओलीले राष्ट्रवादका नाममा अघिल्लोपटक चुनाव जितेका होइनन् ? कहाँ छ त्यो राष्ट्रवाद अहिले ? त्यो राष्ट्रवाद त, ओलीको राष्ट्रवाद त अहिले कालापानीमा गएर समर्पणवादमा घुँडा टेकेको छ । ओली राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएको छ । त्यसकारण ओली राष्ट्रवादी नै होइनन्,’ उनले भने ।

 नयाँपत्रिका दैनिकबाट