काठमाडौं - सन्राइज क्यापिटल लिमिटेडको एघारौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त वार्षिक साधारण सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । साथै उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ४० प्रतिशत (कर सहित) का दरले हुन आउने रु.८ करोड नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको यस कम्पनीले हाल शेयर रजिष्ट्रार, शेयर अन्डरराइटिङ्ग, म्युचुअल फण्ड व्यवस्थापन, लगानी व्यवस्थापन तथा कर्पोरेट एडभाईजरी को कार्य समेत सकृय रुपमा संचालन गर्दै आम लगानी कर्ताहरुलाई सु्दृढ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ । 

साथै यस क्यापिटलले हाल सन्राइज म्युचुअल फण्ड अन्तर्गत सन्राईज फस्र्ट म्युुचुअल फण्ड तथा सन्राइज ब्लुचिप फण्ड योजनाहरु संचालन गर्दै आईरहेकोे छ । सन्राईज फस्र्ट म्युुचुअल फण्ड योजनाले आ.व. २०७७/०७८ को मुनाफाबाट इकाईधनीहरुलाई ५० प्रतिशत (कर सहित) प्रतिफल वितरण गरिसकेको छ । साथै निकट भविष्यमा यस कम्पनीले सन्राइज फोकस्ड इक्विटि फण्ड नामको तेस्रो सामूहिक लगानी कोष योजना संचालन गर्ने प्रक्रियामा रहेको छ ।

यस संस्थाले आगामि वर्षहरुमा मर्चेन्ट बैकिङ्ग सम्बन्धि सम्पूर्ण सेवाहरु सर्वसुलभ तथा गुणस्तरिय ढंगले प्रदान गर्ने मुख्य उद्देश्यलाई रणनितिक रुपमा अगाडि बढाउंदै लगिने छ ।