छाउगोठमा निसास्सिएर महिलाको मृत्यु
काठमाडौं - महिनावारी भएर छाउगोठमा बसेकी एक महिलाको निसास्सिएर मृत्यु भएको छ । साँफेबगर नगरपालिका–३ सिद्धेश्वर डिग्रेनी गाउँकी पार्वती बुढाराउत सोमबार बिहान मृत अवस्थामा भेटिएकी हुन् । झ्याल नभएको साँघुरो छाउगोठमा आगो बालेर सुत्दा निसास्सिएर उनको मृत्यु भएको हो ।
२१ वर्षीया राउतको महिनावारी भएको तेस्रो दिनमा मृत्यु भएको हो । घरदेखि सय मिटर टाढा रहेको छाउघरमा सुतेकी राउत बिहान अबेरसम्म पनि बाहिर ननिस्किएपछि ढोका खोलेर हेर्दा उनी घोप्टो परेको अवस्थामा भेटिएकी थिइन् । प्रारम्भिक अनुसन्धानमा उनको निसास्सिएर ज्यान गएको पाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी जनकबहादुर शाहीले साँघुरो छाउगोठमा आगोको धुवाँले निसास्सिएर उनको मृत्यु भएको जानकारी दिए । ‘छाउघरको ढोका बन्द थियो, धुवाँ निकास हुने अरू विकल्प थिएन,’ उनले भने, ‘अहिलेसम्मको हाम्रो अध्ययनले पनि निसास्सिएरै मृत्यु भएको देखिन्छ ।’ राउतको सोमबार नै पोस्टमार्टम गरिएको र रिपोर्ट आएपछि मात्र थप जानकारी दिन सक्ने उनले बताए । राउतका पति करण राउत कामको सिलसिलामा भारतमा छन् । ११ वर्षयता छाउगोठमा बस्दा अछाममा १४ महिला तथा किशोरीले ज्यान गुमाएका छन् ।
नयाँ पत्रिकाबाट
फेसबुक पेज Like गर्नुहोस