काठमाडौं-दक्षिण भारतीय चर्चित अभिनेता कैकला सत्यनारायणको निधन भएको छ ।

सत्यनारायणको ८७ वर्षको उमेरमा शुक्रबार निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उनी लामो समयदेखि उमेर सम्बन्धी रोगबाट पीडित थिए । सञ्चार माध्यमका अनुसार सत्यनारायणको निधनले सिंगो उद्योग शोकमा डुबेको छ । सत्यनारायणको अन्तिम संस्कार डिसेम्बर २४ अर्थात शनिबार गरिने छ ।

सत्यनारायणको निधनमा धेरै कलाकारहरूले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन् । जहाँ अभिनेता रामचरणले लेखेका छन्, ‘कैकला सत्यनारायण गुरुको निधनको खबर सुनेर निकै दुःख लागेको छ । हाम्रो चलचित्र क्षेत्रमा उनको योगदान सधैं स्मरणीय रहनेछ । उहाँको आत्माले शान्ति पाओस् ।’

त्यस्तै, अर्का अभिनेता चिरञ्जीवीले लेखेका छन्, ‘भगवानले तपाईंको आत्मालाई शान्ति प्रदान गरून् । श्री कैकला सत्यनारायण गुरु ।’ यससँगै उनले सत्यनारायणसँगको केही तस्वीर पनि सामाजिक साञ्जालमा सार्वजनिक गरेका छन् ।

सत्यनारायणले अभिनेत्री नागेश्वरम्मासँग १० अप्रिल १९६० मा विवाह गरेका थिए । दम्पतीका २ छोरी र २ छोरासहित ४ सन्तान छन् । उनले आफ्नो करियरमा करिब ७५० फिल्ममा काम गरेका छन् । उनी अभिनेतासँगै चलचित्र निर्माता पनि थिए । उनले तेलुगु ब्लकबस्टर फिल्म ‘केजीएफ’ पनि बनाएका थिए ।

यसबाहेक सत्यनारायण राजनीतिमा पनि आबद्ध थिए । उनी सन् १९९६ मा मछलीपट्टनम निर्वाचन क्षेत्रबाट सांसद पनि भइसकेका थिए । त्यसपछि अर्को चुनाव हारेपछि सत्यनारायणले राजनीति छोडे र त्यसपछि उनी फिल्मा नै सीमित भए ।