नेपालमा मनसुन प्रवेश, यस्तो छ आगामी तीन दिनको मौसम
काठमाडौं - बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार एक दुई दिनमै मनसुन देशैभरि फैलिने सम्भावना छ ।
आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ । महाशाखाले आज विशेष मौसम बुलेटिनमार्फत आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
महाशाखाले मनसुनलाई निरन्तर अनुगमन गरिरहेको र सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन समेत अनुरोध गरेको छ । नेपालमा सामान्यतया मनसुन जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गरेको छ । दक्षिण एशियाली जलवायु दुष्टिकोण मञ्च (एसएएससिओएफ)ले आगामी मनसुन अवधिमा नेपालका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ ।
हाल देशको पुर्वी भूभागमा पूर्वीय वायु तथा मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ । तसर्थ देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसमविद् प्रधानाङ्गले बताए । आज देशभर सामान्यदेखि पूर्ण बदली रहेको र धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश नं २, वाग्मती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
शनिबार
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।
साँझ : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ ,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारि बर्षाको पनि संभावना रहेको छ।
आइतवार
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बाग्मती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।
साँझ : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।
सोमवार
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश,गण्डकी प्रदेश ,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।
साँझ : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश केही स्थानहरुमा र प्रदेश २, बाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।
देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, लुम्विनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस