काठमाडौं - आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो । नेपालले दिएको १२३ रनको विजयी लक्ष्य पाएको थाइल्यान्डले १६.५ ओभरमा २ विकेटको क्षतिमा १२५ रनसहित जित दर्ता गर्यो।  

थाइल्यान्डका लागि नाथाकन चन्थामले सर्वाधिक ५७ रनको अविजित अर्धशतकीय पारी खेलिन्। उनले ३९ बलमा ९चौका र १ छक्का प्रहार गरिन्।   पावरप्लेमा थाइल्यान्डले बिना कुनै विकेटको क्षति ३७ रन बनाएको थियो। ६६ रन बनाएपछि थाइल्यान्डले पहिलो विकेट गयो। थाइल्यान्डको दोस्रो विकेट नानान्पत कोन्चारोन्काइले ३२ रन बनाइन्। नारुइमोल चाईबाई ३ रनमा अविजित रहिन्। 

नेपालका लागि दुवै विकेट सीता राना मगरले लिइन्। त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि ओपनर ब्याटर विन्दु रावलले सर्वाधिक ४४ रन बनाइन्। उनले ५६ बलमा ६ चौका प्रहार गरिन्। उनको यो टी२० अन्तर्राष्ट्रियमा बनाएको यो नै सर्वाधिक रन हो। 

ओपनरद्वय विन्दु रावल र सम्झना खड्काले पहिलो विकेटको लागि ५२ रनको अर्धशतकीय साझेदारी गरेका थिए। पहिलो विकेटको रुपमा सम्झना खड्काको विकेट गयो । उनले ११ बलमा ६ चौकासहित २६ रन बनाइन्। दोस्रो विकेटको रुपमा अर्की ओपनर विन्दु रावलको विकेट गयो। तेस्रो विकेट पुजा महतोको गयो। उनले १७ बलमा १२ रन बनाइन्। इन्दु बर्मा ६ र कविता कुँवर २ रनमा रनआउट भइन्। छैटौं विकेटको रुपमा रुविना क्षेत्रीले ९ बलमा १ चौका र २ छक्का प्रहार गर्दै १७ रनमा स्टम्पिङ आउट भइन्। सीता राना मगर डकआउट भइन्। रिया शर्मा ४ र अन्तिम विकेटको रुपमा सुमन विष्ट डकआउट भइन्। काजल श्रेष्ठ २ रनमा अविजित रहिन्।

थाइल्यान्डका लागि सर्वाधिक थिपात्चा पुथावोङले सर्वाधिक ४ विकेट लिइन्। ओनिचा काम्चोम्पुले २ चनिडा सुथिरुआङ,सुलीपोन लाओमी र सुनिन्दा चतुरोङ्ग्राताना १–१ विकेट लिइन्। 

नेपालले दोस्रो खेल बिहीबार नेदरल्यान्ड्ससँग खेल्नेछ। आज दोस्रो खेल जिम्बावे र नेदरल्यान्ड्सबीच हुँदैछ।