काठमाडौं - नेपाली कांग्रेसका नेता गगन थापाले बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री के पी शर्मा ओलीमाथि तिखो कटाक्ष गरेका छन् । ७० करोड कमिशनमा निवर्तनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई जोगाउन प्रधानमन्त्रीले खोजेको आरोप उनले लगाएका छन् ।
उनले भनेका छन्, 'केही दिन अगाडि लिक भएको अडियो प्रधानमन्त्री ज्युले डेढ महिना अघि सुनेको सञ्चारमाध्यमा आएका छन् बजेका छन् ।
यसको बारेमा संसदमा आएर उभिएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रा प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्री ज्युसँग छ कि छैन ? प्रधानमन्त्री ज्युसँग हिम्मत छ कि छैन मलाई थाहा छैन तर संसदसँग यो हिम्मत हुनुपर्छ । ध्यान आकर्षण मात्र होइन संसदले यो सामाथ्र्य राख्नै पर्छ । सम्माननिय प्रधानमन्त्री डाँडाकाडा घुमेर होइन ताल तलैया हेरेर बस्ने होइन सदनमा आउनुपर्छ यहाँ उभिनुपर्छ । हाम्रो प्रश्नको सामना गर्नुपर्छ । हामी यहाँ बसेर उहाँलाई निम्छरो होइन सही प्रश्न सोध्ने छौँ ।’
उनले सभामुखलाई प्रधानमन्त्रीलाई संसदमा उपस्थित हुन रुलिङ गर्न समेत आग्रह गरेका छन् ।
उनी अगाडि भन्छन्,‘प्रधानमन्त्री ज्युले के भन्नुहुन्छ मलाई थाहा छैन । तर, उहाँका आसेपासेहरुले केही दिनदेखि भनिरहेका छन् प्रधानमन्त्रीलाई थाहा थिएन । प्रधानमन्त्रीको चुलो चलाउने, प्रधानमन्त्रीको तुलोमा राख्दा कसैले नभ्याउने, अनि प्रधानमन्त्रीका भनाईका आधारमा काभ्रेले आजसम्म जन्माएको सर्वाधिक प्रतिभाशाली प्रधानमन्त्रीको प्रवक्ताले गर्नुभएको कुराहरु प्रधानमन्त्रीलाई थाहा छैन भनेर हामीले पत्याइदिनुपर्ने । हामीले पत्याउनु नै हो भने हाम्रो प्रधानमन्त्रीलाई प्रश्न रहन्छ यी सबै कुरा तपाईलाई थाहा छैन भने प्रधानमन्त्री जी तपाईलाई के थाहा छ । प्रधानमन्त्री जी तपाई थाहा छ, नागरिकहरु के भन्दैछन्, यो सेक्युरिटी प्रेसको ठेक्का मात्रै होइन, स्याटालाइटको ठेक्का, फोरजी विस्तारको ठेक्का, अप्टिकल फाइबर विस्तारको ठेक्का, मोबाइल डिभाइस म्यानेजमेन्ट, सामुदायिक स्कुलमा कम्प्युटर ल्याव स्थापना..... फ्रि इन्टरनेट सेवा यी सबै कुरामा सम्माननिय प्रधानमन्त्रीलाई सबै कुरा थाहा थियो । परिस्थिति नियन्त्रण बाहिर गइसकेपछि अहिले गोकुल बाँस्कोटालाई बलिको बोका बनाइएको छ भनेर नागरिकहरु भन्दै छन् तपाईलाई थाहा छ । प्रधानमन्त्री जी भ्रष्टचारीको अनुहार हेर्दिन भनेर पटकपटक दोहोराउनु भएको छ तर, नागरिकहरु तपाईलाई प्रश्न गर्दैछन् बालुवाटारमा ऐना छ कि छैन भनेर नागरिकहरु प्रश्न गर्दैछन् । प्रधानमन्त्री जी तपाईलाई थाहा छ, तपाईका पार्टीका कार्यकर्ता ठुलो स्वरले बोल्न सक्दैनन् । तर, यही संसदको लबीमा भेट्दै गर्दा झिनो स्वरमा हामीलाई कानेखुसी गर्दै भन्छन् हाम्रा प्रधानमन्त्री पहिले पहिले माक्र्सवादी जस्तो देखिनुहुन्थ्यो । बिचबिचमा समाजवादी जस्तो देखिन थाल्नुभयो । आजभोली एता हेरे पनि उताबाट हेरेपनि यतीवादीमात्र देखिनुहुन्छ ।’
उनी अगाडि भन्छन्,‘प्रधानमन्त्री जी तपाईलाई थाहा छ,एमसीसीको प्रकरण सन्दर्भमा तपाईका पार्टी भित्रका खाट्टी राष्ट्रवादीहरुले तपाईलाई जसरी तह लगाइदिएका छन् । अनि दुई दिन अगाडि मात्रै एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउने कुरामा संविधान संशोधन गर्ने कार्यदल बनाउने कुरामा तपाई जसरी कमजोरी देखिनुभयो, यो देखेपछि तपाईलाई बाहिर के भन्छन् थाहा छ, देखिदाखेरी सुरो, यथार्थमा विचरो भन्दैछन् ।’

.gif)



