काठमाडौं - एक महिनादेखि जारी लकडाउन अब थप्ने कि खुकुलो बनाउने भन्ने विषयमा छलफल गर्न कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक अहिले बसिरहेको छ ।

सिंहदरबारमा बसिरहेको उच्चस्तरीय समन्वय समितिको बैठकमा लकडाउनको अहिलेसम्मको परिस्थिति र बिभिन्न स्थानको संक्रमणको अवस्थाबारे विश्लेषण हुने बताइएको छ ।

समग्र अवस्थाको विश्लेषण गरेर लकडाउनको स्वरुपबारे निर्णय लिइने उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले जानकारी दिए ।

वैशाखभर लकडाउन गर्ने गरी निर्णय गरेर मन्त्रिपरिषदमा प्रस्ताव लग्‍ने रणनितिमा समिति छ। अत्यावश्यक सेवा सञ्‍चालन गर्न दिने गरी लकडाउन खुकुलो बनाउने तयारी भइरहेको समितिका एक सदस्यले बताए । 

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि नेपालमा लकडाउनमा छ । पछिल्लो पटक थपिएको लकडाउनको अवधि वैशाख १५ गतेसकिदै छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । उदयपुरको भुल्केमा मात्रै २८ जना कोरोना संक्रमित पुष्टि भएका छन् भने ११ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।