काठमाडौं  -  सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी फैलिएका देशबाट आफ्ना नागरिकलाई तत्काल फिर्ता ल्याउने आवश्यक व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। 

बिहीबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले यस्तो आदेश जारी गरेको हो। कोरोना भाइरसको महामारी फैलिएसँगै विदेशी मुलुकहरुले पनि आफ्ना नागरिक फिर्ता ल्याइरहेको सन्दर्भमा यस्तो आदेश दिएको हो। 

सर्वोच्चले विदेशमा श्रम गरिरहेका नेपालीलाई फर्काउन दबाबसमेत आएको  सन्दर्भमा उचित व्यवस्थापन गरी फिर्ता ल्याउन भनेको हो। कोरोना महामारी फैलिएका देशमा रोजगारीमा रहेका नेपालीहरुको अवस्थाबारेको प्रतिवेदन तयार गर्न पनि सर्वोच्चले सरकारलाई भनेको छ।

सर्वोच्चको आदेशमा भनिएको छ : 

‘वैदेशिक रोजगारीमा रहेको अत्यन्त जोखिममा रहेको नेपाली नागरिकको अनियन्त्रित र अव्यवस्थित नेपाल प्रवेशबाट हुने थप जोखिमबाट संरक्षण गर्न नागरिकको व्यक्तिगत अधिकार तथा बहुसंख्यक जनताको जीवन, स्वास्थ्य र सुरक्षाको हितलाई समेत सन्तुलित तरिकाले संरक्षण गर्दै सुक्ष्म, गम्भीर एवं संवेदनशील तरिकाले विना भेदभाव, विना स्वेच्छाचारी, विवेकपूर्ण तरिकाले नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने उद्धारका लागि आवश्यक प्रशासनिक, आर्थिक व्यवस्थापकीय पहल गर्न विपक्षीहरुको नाउँमा …. अन्तरिम आदेश जारी गरिदिएको छ । ’