काठमाडौं - सरकारले र आन्दोलनरत उखु किसानसँग पाँचबुँदे सहमति गरेको छ । सहमति भएसँग उखु किसानको आन्दोलन स्थगित भएको छ ।

सर्लाहीको अन्नपूर्ण चिनी मिलले दुई वर्षदेखिको रकम नदिएपछि उखु किसानहरु काठमाडौं आएर आन्दोलन र धर्ना गरिरहेका थिए । मन्त्रालय, मन्त्री क्वाटर धाउँदा पनि आफ्नो पीडा नसुनेपछि किसानहरु माइतीघर मण्डलामा धर्ना बसे ।

सरकारले चिनी मिल सञ्चालकहरुलाई बोलाएर किसानको पैसा दिन ताकेता गर्‍यो । त्यही क्रममा अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेशकुमार अग्रवालले शुक्रबार किसानहरुको खातामा ५० लाख पठाएको र बाँकी रकम पनि पुस २५ गतेभित्र दिने बाचा गरे ।

लगतै उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आन्दोलनरत किसानहरुलाई वार्तामा बोलाए । वार्तामा किसानहरुले १२ बुँदे माग पत्र पेश गरेका थिए ।

तर पाँचबुँदामा सहमति जुटेको छ । सहमतिअनुसार माघ ७ गतेभित्र उखु किसानको बाँकी रकम झुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग मन्त्रालय आफैंले समन्वय गर्नेछ । साथै भुक्तानीको समस्या दिगो रुपमा हल गर्न उखु खरिद विक्री गरेको रकम तुरुन्त भुक्तानी हुने गरी स्वचालित मूल्य प्रणाली बनाउन अध्ययन गर्ने गरी सहसचिवको नेतृत्वमा कार्यदल गठन गर्ने सहमति भएको छ ।

‘अब फेरि किसानहरुलाई सडकमा देख्नु नपरोस् भनेर उच्चस्तरीय कार्यदल बनाउने भनेका छौं’ मन्त्री भट्टले भने, ‘यसले सम्पूर्ण समस्याको गहिरो अध्ययन गर्छ र प्रतिवेदन दिन्छ । त्यसलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउँछु ।’