काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितका सबै आयुक्तहरूको राजीनामाको मागसहितको निवेदन लिएर जेनजी युवाहरूको एक समूहले अख्तियारकै कार्यालयमा पुगेका छन् ।

उनीहरूले आज बिहान अख्तियारकै कार्यालयमा गएर ‘जेनजेड मुभमेन्ट अलायन्स’ को नाममा दबाबपत्र बुझाएका हुन्।

अख्तियारमा दलका मान्छे नियुक्त गरिएको र भ्रष्टाचारको निष्पक्ष छानबिन हुनेमा शंका भएको भन्दै नयाँ निष्पक्ष मान्छे ल्याउनुपर्ने उनीहरूले माग गरेका छन् । अलायन्सले अन्तरिम सरकारलाई खुला आवेदन प्रक्रियामार्फत योग्यता र क्षमता भएका नागरिकलाई नयाँ आयुक्तका रूपमा नियुक्त गर्न आग्रह गरेको छ ।

‘जेनजी मुभमेन्ट अलायन्स’ ले हिजो राईसहित सबै आयुक्तलाई तत्काल राजीनामा दिन भन्दै इमेलबाट दबाबमूलक पत्र समेत पठाएको थियो ।

प्रधानमन्त्रीलेको निर्देशनबमोजिम आयोग कार्यालय परिसरमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यस्तो छ पत्रमा

माननीय प्रेमकुमार राईज्यू,

प्रमुख आयुक्त,

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल।

महोदय,

विषयस् राजीनामा दिनका लागि आग्रह तथा दबाबपत्र।

वि।सं। २०८२ साल भाद्र २३ गतेबाट जनेजीद्वारा सुरु गरिएको आन्दोलनका मुख्य मागहरु भ्रष्ट्राचार र दण्डहिनताको अन्त्य हुन् भन्नेबारे यहाँलाइ अवगतै छ । यी मागहरु पुरा गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारीहरूको नियुक्ति गर्न आवश्यक छ । तपाईंलगयत अरु सम्पुर्ण आयुक्तको नियुक्ती संसदिय सुनुवाइबिना नै पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सरकारले अध्यादेश जारी गरी निरंकुश ढङ्गले भएको छ । यसले तपाईंको निष्पक्षतामा ठुलो प्रश्न उठाउँछ।

साथै, तपाईंका कार्यहरु राजनीतिक रूपमा पक्षपाती छन् भन्ने आलोचना पनि प्रशस्तै छन् र तपाईंको आफ्नै नाम वाईड बडी घोटालालगायत धेरै भ्रष्ट्राचारका मुद्दाहरुमा मुछिएको पनि छ । विशेष अदालतले समेत स्पष्ट रूपमा तपाईं र सिङ्गो अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कार्यप्रणाली माथि प्रश्न उठाएको छ । यसले भ्रष्ट्राचार अन्त्य र दोषीलाइ कारबाही लगायतका सबै पक्षमा नकारात्मक प्रभाव पार्दछ भन्ने अनुमान गर्न गलत नहोला । तपाईंको नेतृत्वमा यी कार्यहरु निष्पक्ष रुपले हुनसक्ला भन्नेमा कुनै विश्वसनिय आधार छैन।

यसकारण ७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्ट्राचार र दण्डहीनताको अन्त्य गर्नका लागि दिएको शहादतलाई सम्मान गर्दै नैतिकताको आधारमा तपाईंलगायत सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिनका लागि आह्वानका साथै यस पत्रमार्फत दबाब दिन्छौँ।

तपसिलस्

३९ वटा जिल्ला प्रतिनिधित्व गर्ने १२ वटा जेनजी समूहले हस्ताक्षर गरी सम्माननीय प्रधानमन्त्रीज्यूको निजी सचिवालयमा दर्ता गरिएको जनादेशसम्बन्धी सम्झौताको दोश्रो मागः नेपालमा भएको संस्थागत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको राजनीतिकरण (दलीयकरण) र राजनीतिक नियुक्तिको अन्त्य गर्ने को प्रतिलिपि

बोधार्थः

सम्माननीय प्रधानमन्त्रीज्यू,

माननीय गृह मन्त्रीज्यू,

माननीय अर्थ मन्त्रीज्यू,

सबै माननीय आयुक्तज्युहरू,

अख्तियार दुरुपयोग अनुसन्धान आयोग,

माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीज्यू ।