प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गरेका छन् ।
शुक्रबार भएको उक्त भेटका क्रममा प्रधानमन्त्री कार्कीले राजदूत चाङलाई बधाई दिँदै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले पनि नेपालको लोकतान्त्रिक प्रक्रियाको महत्त्वपूर्ण हिस्सा निर्वाचनमा चीनबाट प्राप्त सदासयता र सहयोगका लागि कृतज्ञता ज्ञापन गरिन्। साथै विकासका विभिन्न परियोजनामा चीनबाट प्राप्त सहयोग र साझेदारीका अवसरहरुप्रति नेपाल र नेपाली जनताका तर्फबाट आभार व्यक्त गरिन्।
संस्कृति, भूगोल र ऐतिहासिक सम्बन्धले दुवै मुलुकलाई कसिलोसँग जोडेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले नेपाल पञ्चशीलको सिद्धान्तमा अडिग रहेको, एक चीन नीति अवलम्बन गर्दै आएको र निकट छिमेकी मुलुकको अहितमा कुनै पनि गतिविधि हुन नदिनेमा पनि सदाझैँ स्पष्ट रहेको बताइन्।
चिनियाँ राजदूत चाङले पनि प्रधानमन्त्री कार्कीलाई मुलुकमा शान्ति, सुरक्षा र कानुनको शासन बहाल गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन हुने सुनिश्चितता भएको भन्दै बधाई ज्ञापन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै नेपालको यस प्रक्रियामा चीनको साथ र सहयोग रहेको पनि उनले बताए। भेटमा नेपाल–चीन सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस