वडाध्यक्षकै नेतृत्वमा प्रहरी चौकीमा आक्रमण
काठमाडौं - मदिरा सेवन गरेर हातहतियार सहित वडा अध्यक्ष नेतृत्वको एक टोलीले रुकुम पश्चिमको एक प्रहरी पोष्टमाथि आक्रमण गरेको छ ।
जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष दिपक केसी लगायतको समूहले मंगलबार करिब ९ बजे नगरपालिकाको वडानम्बर १४ को छिवाङ्ग ज्युलामा रहेको अस्थायी प्रहरी पोष्टमा आक्रमण गरेको हो ।
आफ्नो नेतृत्वमा २५ जना भन्दा बढी स्थानीय युवाहरु लिएर प्रहरी पोष्ट माथि आक्रमण गरी उनी फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
अहिलेसम्म प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन । जानकारी अनुसार, अत्याधिक मदिरा सेवक गरेर आएका अध्यक्ष केसीको टोलीले प्रहरीको इन्ट्रिपोस्ट, प्रहरी र प्रहरी भाडामा बसेको घर माथी ढुङ्गामुडाले आक्रमण गरेका हुन् ।
एक्कासी पोष्ट माथी आक्रमण गरेका उनीहरुले प्रहरी ईन्चार्जको पेस्तोल खोसेर पछि फेरि फिर्ता गरेर भागेको प्रहरीले जनाएको छ । वडा अध्यक्षको साथमा आएका उनका छोरा लगायतको समुह चक्कु र अन्य हतियार समेत बोकेर आक्रमणमा उत्रिएको प्रहरीले जनाएको छ
फेसबुक पेज Like गर्नुहोस