काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भारतको उत्तराखण्ड देहरादुनमा कुटिएका नेपाली विद्यार्थीलाई तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गरी प्रवक्ता विश्वप्रकाश शर्माले अध्ययनरत नेपाली विद्यार्थीहरु निर्घात रुपले कुटिएको घटनालाई गम्भीरतापूर्वक लिएको बताउँदै अविलम्ब उद्दार गर्न सरकार समक्ष आग्रह गरेका हुन् । ‘भारतको देहरादुनमा अध्ययनरत नेपाली विद्यार्थीहरु निर्घात रुपले कुटिएको घटनालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ ।’ उनले भनेका छन् ।

हाल एक देशका विद्यार्थी अर्को देशमा पढ्न जाने बिषय सामान्य कुरा बनिसकेको उल्लेख गर्दै कांग्रेसले नेपाली विद्यार्थी या अन्य कोहि पनि नेपाली नागरिक दुव्र्यवहार र आक्रमणमा पर्छन् भने त्यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएको छ । ‘आजको विश्वमा एक देशका विद्यार्थी अर्को देशमा पढ्न जाने बिषय सामान्य कुरा बनिसकेको छ । नेपाल र भारत दुबै देशका विद्यार्थी एकापसको देशका विभिन्न शहरमा अध्यनरत छन् । जो जहाँ पढिरहेका छन् सुरक्षीत र निर्भीक वातावरण प्राप्त गर्नु तिनको अधिकार मात्रै होइन त्यसको सुनिश्चितता गर्ने अभिभारा दुबै देशका सरकारहरुको हो ।’ विज्ञप्तिमा उल्लेख छ, ‘कुनै पनि बहानामा संसारमा कहिँ पनि कोहि एकमात्र पनि नेपाली विद्यार्थी या अन्य कोहि पनि नेपाली नागरिक दुव्र्यवहार र आक्रमणमा पर्छन् भने त्यसलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्दछ । अतः देहरादुनमा विजया दशमीकै दिन दर्जनौँ नेपाली विद्यार्थीहरु माथि भएको कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिन, विरोध प्रकट गर्दै भारत सरकारको ध्यानाकर्षण गराउन र ती विद्यार्थीहरुको अविलम्ब उद्दार गर्न नेपाली कांग्रेस नेपाल सरकार समक्ष माग गर्दछ ।’