बिहीवार बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने, के गर्ने के नगर्ने यस्तो छ खगोलशास्त्रीको सुझाब
काठमाडौं - यही पुस १० गते बिहीवार पौष कृष्ण औंसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक समितिले बताएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुनेछ । बिहान १०ः ०१ बजे मध्य हुने ग्रहण ११ः ३१ बजे समाप्त हुनेछ । पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले बताएको छ ।
ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात पुस ९ गते बेलुकी ८ः ४२ देखि बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध रहेको उनले बताए ।
ग्रहणका बेलामा खानपिनलगायत महत्वपूर्ण कामका लागि निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ ।
ग्रहण हेर्न कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि राम्रो छ ।बाँकी राशिकालाई शुभ फल नदिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) मा उल्लेख छ । शुभ फल मिल्ने राशि भएकालाई पनि सूर्यग्रहण प्रत्यक्ष आँखाले भने नहेर्न समितिले आह्वान गरेको छ । कुनै भाँडामा पानी राखेर वा सुरक्षित यन्त्रका माध्यमबाट सूर्यग्रहण हेर्न सकिने छ ।
बिदा छैन : गृह मन्त्रालय
यसअघिका सूर्यग्रहणका बेला सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । यसपटक भने क्यालेन्डर (वार्षिक पात्रो) मा बिदा उल्लेख नगरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए ।
क्यालेण्डरमा बिदा नभएको बेलामा सरकारले निर्णय गरेर बिदा दिने गरेकामा हालसम्म सूर्यग्रहणका लागि पुस १० गते सार्वजनिक बिदा दिने निर्णय नभएको उनले बताए ।
फेसबुक पेज Like गर्नुहोस