काठमाडौं -  दाङको देउखुरी क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मुसरियामा शुक्रबार राति करिब १० बजे  लु ४० प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार भालुवाङस्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बरमा कार्यरत दुवै सशस्त्र प्रहरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लमही नगरपालिका–१ का लहानु चौधरी र राप्ती गाउँपालिका– ६ का सुलेश चौधरी रहेका छन् । उनीहरु सशस्त्र प्रहरीका जवानहरु हुन् ।

उनीहरु लगातारको वर्षाका कारण देउखुरीका विभिन्न ठाउँमा उद्धारमा खटिएका र डिउटी सकाएर गणमा फर्किने क्रममा दुर्घटनामा परेको प्रहरी नायव निरीक्षक राजनकुमार गौतमले बताए ।