काठमाडौं - भारतले नेपाली भूमि मिचेर नयाँ राजनीतिक नक्सा जारी गरेको विषयमा सरकारले ‘कूटनीतिक नोट’ पठाएर उसको ध्यानाकर्षण गराएको छ। परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार कूटनीतिक नोट दिल्लीलाई पठाइएको हो ।

यसकै आधारमा नेपाल र भारतबीच सीमा विवादका विषयमा वार्ता हुने दाबी पनि अधिकारीको छ । यसअघि भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय उच्च अधिकारीसँग भेट गरी समस्या समाधानको पहल गरेका थिए ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यो विषयमा नेपालले भारतसँग आरम्भदेखि नै कूटनीतिक पहल गरिरहेको बताए । ‘सगरमाथा संवाद’ सचिवालयको आरम्भ गर्दै मन्त्री ज्ञवालीले भारतसँग कूटनीतिक छलफल भइरहेको बताएका हुन् । सरकारले बाहिर बोल्ने मात्र होइन, भित्र आफ्ना तर्फबाट गर्नुपर्ने कार्य गरिरहेको दाबी उनले गरे । भारतले कात्तिक १७ मा जारी गरेको नक्सामा नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई अतिक्रमण गरेको छ ।

सरकारले कात्तिक २० मा विज्ञप्ति जारी गर्दै कालापानी क्षेत्र नेपाली भूभाग रहेको विषयमा आफू स्पष्ट रहेको बताएको थियो । त्यो वक्तव्यलाई झारा टार्ने भनी आलोचना भएको थियो । त्यसको भोलिपल्ट भारतको विदेश मन्त्रालयले आफ्नो राजनीतिक नक्सामा भारतको सार्वभौम भूमि रहेको उल्लेख गरेको थियो । उसले नक्सामा कुनै सीमा परिवर्तन नगरिएको भन्दै नेपालको धारणालाई अस्वीकार गरेको शैलीमा जवाफ दिएको थियो । 

अन्नपूर्ण पोष्टबाट