काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ ।
बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
गौतमलाई राष्ट्रिय सभामा रिक्त हुँदै गरेको एक पदमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्तिका लागि निर्णय भएकाे हाे । राष्ट्रपतिको सिफारिसमा राष्ट्रिय सभा सदस्य भएका युवराज खतिवडाको पद केही दिनपछि रिक्त हुँदैछ।
यस्तै, नेता गौतमलाई राष्ट्रियसभामा लगेर राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधनको गृहकार्य गर्न गठित कार्यदल भंग भएको छ । प्रवक्ता श्रेष्ठले चर्चामा आएको संविधान संशोधनको लागि गृहकार्य गर्न बनाइएको कार्यदल क्रियाशील नहुने जानकारी दिएका हुन् ।
माधवकुमार नेपालको संयोजकत्वमा बनाएको कार्यदलमा सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा सदस्य तोकिएका थिए । कार्यदल बनाएको विषयमा पार्टी भित्र र बाहिरबाट विरोध भएको थियो ।

.gif)


