काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ ।

आइतबार बसेको आयोगको बैठकले ‘नोबेल कोरोना भाइरस’को त्रासले चीनमा नेपालीहरू कैदीजस्तै कोठाभित्र बसिरहेको भन्दै सरकारलाई तत्कालै उद्धार गर्न निर्देशन दिएको हो ।

आयोगको आकस्मिक बैठक बसेर चीनमा रहेका १८५ विद्यार्थीसहित अन्य नेपालीलाई उद्धार गर्न सरकारलाई निर्देशन दिएको आयोगका प्रवक्ता वेद भट्टराईले जानकारी दिए ।

विगत दुई हप्तादेखि चीनको हुवेई प्रान्तमा रहेका करीब १८५ जना नेपाली विद्यार्थी तथा अन्य नेपाली नागरिकहरू त्यहाँ फैलिएको  कोरोना भाइरसको संक्रमणबाट सन्त्रस्त भइरहेको र उनीहरूको शीघ्र जीवन रक्षा गरिदिन माग गर्दै उनीहरूका अविभावकहरूले आयोग समक्ष ज्ञापन–पत्र बुझाएका थिए ।

हालसम्म चीनको मुख्य भूमिमै ८०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । भाइरसबाट ३७,००० भन्दा बढी मानिस सङ्क्रमित छन् । दुई दर्जन अन्य देशमा कोरोना प्रभावित व्यक्ति भेटिएका छन् ।