भारतीय सेना प्रमुखले आफ्नो अत्यन्तै आपत्तिजनक अभिव्यक्ति सच्याउनुपर्छः प्रवक्ता श्रेष्ठ
काठमाडौं - सत्तारुढ नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय सेना प्रमुख जनरल मनोज नरवानेले आफ्नो भनाई सच्याउनुपर्ने बताएका छन् ।
भारतीय सेना प्रमुख जनरल मनोज नरवानेले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने सडक निर्माणका सम्बन्धमा दिएको अभिव्यक्ति सच्याउनुपर्ने प्रवक्ता श्रेष्ठले बताएका हुन् । ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र र भारतले बनाएको धार्चुला-लिपलेक रोडबारे नेपालको अडानबारे भारतीय सेना प्रमुखको भनाई अत्यन्तै आपत्तिजनक छ,’ उनले शनिबार एक ट्वीट सन्देशमा लेखेका छन्, ‘नेपाल सधैं एक स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देश हो । उनले आफ्नो भनाई सच्याउनुपर्छ ।’
भारतीय सेना प्रमुखको उक्त भनाईमाथि नेपाली सेनाले पनि उपयुक्त मञ्चमा आफ्नो धारणा व्यक्त गर्ने प्रतिक्रिया दिएको छ ।
उक्त सडक निर्माणका सम्बन्धमा भारतीय सेना प्रमुखबाट आएको पछिल्लो अभिव्यक्तिका सम्बन्धमा राखिएको जिज्ञासामा नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले आवश्यकताअनुरुप नेपाली सेनाले प्रष्ट र जिम्मेवार ढङ्गबाट विधिसम्मत तथा उपयुक्त मञ्चमा आफ्नो धारणा व्यक्त गर्ने जानकारी दिएका हुन् ।
भारतीय सेना प्रमुख नरवानेले एक कार्यक्रममा मानसरोवर जाने वास्तविक नियन्त्रित रेखा (एलएसी)लाई लिपुलेक हुँदै गएको उक्त सडकमा कुनै विरोधाभाष नभएको अभिव्यक्ति दिएपछि नेपाली सेनाको उक्त प्रतिक्रिया आएको हो । भारतले नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र अतिक्रमण गरी सडक निर्माण गरेको विषयमा नेपाल सरकारले यस विषयमा आपत्ति जनाउँदै प्रतिक्रिया दिइसकेको छ ।
फेसबुक पेज Like गर्नुहोस