भारतले अस्वीकार गर्यो नेपालको लिपुलेक दाबी, भन्यो: ऐतिहासिक प्रमाण छैन
काठमाडौं - भारतले लिपुलेक पासमाथि नेपालको क्षेत्रीय दाबीलाई अस्वीकार गरेको छ ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले एक वक्तव्य जारी गरी लिपुलेक नाका आफूले दसकौँदेखि प्रयोग गरी आएको र नेपालले विस्तार गरेको नक्सा आधारहीन रहेको टिप्पणी गरेको हुन् ।
भारतले बुधबार बाँकी सीमा समस्याहरूको समाधानका लागि रचनात्मक अन्तरक्रियाका लागि खुला रहेको बताएको छ । भारतको विदेश मन्त्रालयले नेपालले गरेको दाबी औचित्यपूर्ण र ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नरहेको जनाएको छ ।
“हामीले लिपुलेक पासमार्फत भारत र चीनबीचको सीमा व्यापार पुनः सुरु गर्ने सम्बन्धमा नेपालको परराष्ट्र मन्त्रालयले गरेको टिप्पणीलाई नोट गरेका छौँ,” जैसवालले भने ।
यसमा भारतको अडान निरन्तर र स्पष्ट रहेको भारतले बताएको छ । “भारत र चीनबीच लिपुलेक पासमार्फतको सीमा व्यापार सन् १९५४ मा सुरु भएको थियो । यो दशकौँदेखि चलिरहेको छ । कोभिड र अन्य घटनाक्रमका कारण हालैका वर्षहरूमा यो व्यापार अवरुद्ध भएको थियो” उनले भने, “अब दुवै पक्षले यसलाई पुनः सुरु गर्न सहमत भएका छन् ।”
उनले यस्ता दाबीहरू औचित्यपूर्ण र ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएकाले क्षेत्रीय दाबीहरूको एकपक्षीय कृत्रिम विस्तार स्वीकार्य नरहेको बताएका छन् ।
“भारत नेपालसँग सहमति भएका बाँकी सीमा समस्याहरू संवाद र कूटनीतिमार्फत समाधान गर्न रचनात्मक अन्तरक्रियाका लागि खुला छ,” उनले भनेका छन् ।
यो विषय भारत र चीनले चिनियाँ विदेशमन्त्री वाङ यीको नयाँ दिल्ली भ्रमणका क्रममा लिपुलेक पासमार्फत सीमा व्यापार पुनः खोल्ने सहमति गरेपछि आएको हो ।
नेपालको परराष्ट्र मन्त्रालयले बुधबार लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको र भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण, विस्तार, सीमा व्यापारजस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको भनी प्रतिक्रिया सार्वजनिक गरेको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस