काठमाडौं - राष्ट्रिय महत्वको आयोजना संघीय संसद् भवन निर्माणको कामले गति लिएको छ ।

लकडाउनको समयमा पनि निरन्तर अगाडि बढेको संसद् भवनको काम तीव्र गतिमा अगाडि बढेको हो । निर्माण शुरु भएको १५ महिनामा भवन निर्माणको २० प्रतिशत काम सम्पन्न भएको हो ।

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजनाले तोकिएकै समयसीमाभित्र भवन निर्माण गर्न कार्यतालिका नै बनाएर काम अगाडि बढाएको छ । विशेष भवन निर्माण आयोजनाका प्रमुख दिलीप श्रेष्ठले राष्ट्रिय महत्वको संघीय संसद् भवन निर्माणको काम तोकिएकै समयसीमाभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाएको बताए । उनले भने– ‘लकडाउनको अवधिमा पनि काम रोकिएन, अहिले दैनिकरुपमा कामको अनुगमन गरिरहेका छौं, कार्यतालिका बनाएरै लक्ष्यअनुसारको काम गराउन हामी लागिपरेका छौं ।’

संसद् भवन निर्माणका लागि हाल निर्माण कम्पनी टुण्डी÷सेक ज्वाइन्ट भेन्चरले ४ सय ५० जना कामदारको प्रयोग गरेको छ । तर आयोजनाले लकडाउनको कारण केही प्रभावित हुन पुगेको कामलाई गति दिन कामदार थप्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ । आयोजना प्रमुख श्रेष्ठले भने– ‘कामलाई समयसीमाभित्र नै सम्पन्न गर्न कामदारको संख्या चार सय पचासबाट बढाएर सात सयभन्दा बढी पु-याउन निर्देशन दिएका छौं ।’

 नेपाल समाचारपत्रबाट