काठमाडौं - सामाजिक सञ्जालमा आलिया भट्ट खुब सक्रिय छिन् । उनले युट्युबमा पनि फ्यानहरूसँग जोडिन आफ्नो एकाउन्ट खोलेकी छिन् ।

यसको जानकारी उनी आफैँले दिएकी हुन् । आलियाले ट्विटरमा आफ्नो युट्युब भिडियोको लिंक सेयर गरेकी छिन् । उनले लेखेकी छिन्, ‘केही नयाँ, केही युट्युबमा ।’ आलियाले आफ्नो युट्युब च्यानलमा फ्यानहरूका साथमा फेसन, मेकअप र फिटनेस तथा सुटिङको भिडियो सेयर गर्नेछिन् । आलियाले पहिले पनि भन्दै आएकी थिइन् कि उनलाई केही न केही नयाँ गर्नुपर्छ ।

आलियाले दुई मिनेट ४३ सेकेन्डको भिडियो सार्वजनिक गर्दै उनको युट्युब च्यानलमा अलि निजी जीवनसँग जोडिएका भिडियोलाई फोकस गर्ने बताएकी छिन् । युट्युब च्यानल उनका लागि आफूलाई अभिव्यक्त गर्ने एक अवसर हो ।

आलियाले भिडियोमा उनको सुटिङको छोटो–छोटो क्लिप्स हालेकी छिन्, जसमा उनी दर्शकलाई हँसाउने प्रयासमा छिन् । भिडियोमा आलियाले ‘टिप टप वर्षा पानी’ बोलको गीतमा पनि केही सेकेन्ड नाचेकी छिन् ।