रुकुम पूर्व - नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्वलाई आगामी पाँच वर्षभित्र देशकै उत्कृष्ट विकासको नमुना जिल्ला बनाउने घोषणा गरेका छन् ।

बुधबार रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ ढकालबारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूलाई प्रतिनिधिका रूपमा काम गर्ने अवसर दिएमा रुकुम पूर्वको विकास र समृद्धिमा ऐतिहासिक परिवर्तन ल्याउने प्रतिवद्धता व्यक्त गरेका हुन्।

सभामा प्रचण्डले रुकुम पूर्वको विकासका लागि आफूले स्पष्ट खाका तयार पारेको दाबी गर्दै भने,‘मलाई यहाँको प्रतिनिधिको रूपमा काम गर्ने मौका दिनुहोस्, म पाँच वर्षभित्र रुकुम पूर्वलाई यसरी विकास गर्नेछु कि देशभरिका मान्छे यहाँको नमुना हेर्न आउनेछन्। यहाँको भूगोल, संस्कृति र सम्भावनालाई हामी विश्वकै आकर्षणको केन्द्र बनाउनेछौं।’

उनले भौतिक पूर्वाधार र स्थानीय अर्थतन्त्रलाई जोड्ने योजनाहरू अघि सार्दै शहीद मार्गलाई चीनको सीमासम्म जोड्ने र पक्की बनाउने कार्य आफ्नो प्राथमिकतामा रहेको बताए ।