बागलुङ - बागलुङमा पछिल्लो तीन दिनयता गएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ। विपद्का घटनामा एकजना अझै बेपत्ता छन्।

ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा मंगलबार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोका रहेका छन्।

यसअघि शनिबार ताराखोला गाउँपालिकामै पहिरोमा परी एकजनाको मृत्यु भएको थियो। यस्तै, आइतबार तमानखोला गाउँपालिकामा चारजनाको मृत्यु हुनुका साथै एकजना बेपत्ता भएका थिए भने निसीखोला गाउँपालिकामा पाँचजनाको मृत्यु भएको थियो।

अविरल वर्षापछि आएको बाढीपहिरोका कारण जिल्लाका विभिन्न स्थानमा जनधनको क्षति भएको प्रहरीले जनाएको छ।