काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजित नभएको दाबी गरेका छन् । पार्टी फुटेको दोस्रो दिन न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा ओलीले एमाले विभाजित नभएर एउटा चोइटो उछिट्टिएको टिप्पणी गरे । 

 ‘टुक्रिनु र विभाजित हुनु फरक कुरा हो। एमालेबाट अलिकति चोइटो उछिट्टिएको हो’ ओलीले भने । बाह्य शक्तिले एमाले फुटाएको ओलीको दावी छ । तर, यसले एकाध ठाउँमा असर गरे पनि अपूरणीय क्षति नहुने उनले बताए । 

‘एकाध ठाउँ भत्काउने, इँटा खुस्काउने गर्न सक्लान् । तर त्यो टाल्न सकिन्छ, अपूरणीय क्षति होइन, भवन नै ध्वस्त हुने क्षति होइन ।’ ओलीले भने ।

माधव नेपाललाई बाहिरी शक्तिले एमाले छोड्न बाध्य पारेको ओलीको दाबी छ । ‘चुम्बकका दुईवटा पोलजस्ता शक्तिहरु एकै ठाउँमा ल्याइएको छ, कसरी ? त्योभन्दा बलबान शक्ति भयो भने लैजाने हो । जस्तै बन्धन भए पनि चुँडाउन सक्ने गरी तागत लाग्यो भने लैजाने हो । एमालेबाट चुँडाउने गरी तागत लागेपछि माधव नेपालको केही लागेन होला ।’ उनले भने । 

आफूले एकताबद्ध राख्न अनेक कोशिस गर्दा पनि पार्टी फुटेको उनको दाबी थियो। उनले आफूले ५१ वर्षअघिबाट पार्टी एकता गर्न सुरु गरेर नेकपासम्म बनाएको जिकिर गरे।