राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा
विराटनगर - प्रदेश नं.१ मा राष्ट्रियसभा सदस्य पदको माघ ९ गते (बिहीबार) हुन गइरहेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
निर्वाचन स्वच्छ, निष्पक्ष र व्यवस्थित ढङ्गले सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिए । निर्वाचनका लागि वीरेन्द्र सभागृहमा स्थानीय तहका मतदाता र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था मिलाउन लागिएको उनले बताए ।
एक दलित, एक महिला र एक अन्य गरी तीन जना राष्ट्रियसभा सदस्यका लागि बिहीबार बिहान १० बजेदेखि ४ बजेसम्म मतदान हुने उनले जानकारी दिए ।
वीरेन्द्र सभागृहमा रहेको मतदानस्थलमा रहेको दुई केन्द्रमध्ये (क)मा प्रदेशसभा सदस्य र (ख) मा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । उक्त निर्वाचनमा प्रदेश नं १ का प्रदेशसभा सदस्य ९३ तथा स्थानीय तहअन्तर्गत महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष २७४ गरी कूल ३६७ जनाले मतदानमा सहभागी हुनेछन् ।
निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न १८ कर्मचारी खटिएका छन् भने निर्वाचनस्थलको सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयमा मतपत्र प्राप्त भएपछि मतगणना शुरु गरिने सूचना अधिकृत अधिकारीले बताए । राष्ट्रियसभा सदस्य पदका लागि हुने निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट तीन, नेपाली काँग्रेसका तर्फबाट तीन र सङ्घीय समाजवादी पार्टीेका तर्फबाट तीन गरी जम्मा नौ जना उम्मेदवार छन् ।
प्रेस सङ्गठन मोरङ ३५ सदस्यीय
प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भई बनेको प्रेस सङ्गठन मोरङ शाखाले ३५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ ।
यसअघि संयोजकमा सुदीप कोइराला र सहसंयोजकमा गोकुल पराजुली चयन भएका थिए । समितिका सदस्यमा मनोजकुमार दाहाल, अर्जुनकुमार आचार्य, दिनेश सुब्बा, नेत्र पी अधिकारी, माधवप्रसाद मुकुन्द खतिवडा, हरि अधिकारी, सन्तोष राई, शशाङ्क पौडेल, अनिल श्रेष्ठ, सरोज बस्नेत, सुमन घिमिरे, ज्योति चौहान, नवीन कर्ण, हरिहर नेपाल र बाबुराम भण्डारी रहेका छन् ।
यस्तै अन्य सदस्यमा सुरेश अधिकारी, श्रीमन्त भट्टराई, प्रेम देवान, उत्तम पोखरेल, सन्तोष गौतम, मनोजकुमार महतो, बाबुराम मुडियारी, सुजाता लिङ्लेखु, डम्बर विक, अर्जुन राई, नवराज भट्टराई, ध्रुव भट्टराई, रञ्जना बुढाथोकी, पवनकुमार साह, सन्दिप राई, विजय धिमाल, एलिना दियाली र सुस्मिता दाहाललाई चयन गरिएको छ ।
यस्तै, राष्ट्रियसभा सदस्य पदमा सुदूरपश्चिम प्रदेशबाट निर्वाचित हुने दुई सदस्य पदका लागि बिहीबार हुन गइरहेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश बिदुर काफ्लेले सो निर्वाचनको मतदाताका रूपमा रहेका प्रदेशसभाका सदस्य, नगरपालिकाका प्रमुख/उपप्रमुख र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष मतदानस्थलमा पुग्ने क्रम शुरु भएको बताए ।
प्रदेशको पुरानो सदरमुकाम डोटीको सिलगढीस्थित पद्मपब्लिक हाइस्कुललाई मतदान केन्द्र तोकिएको छ । निर्वाचनमा सुदूरपश्चिम प्रदेशसभामा रहेका ५३ सदस्य र प्रदेशका ८८ स्थानीय तहका प्रमुख÷उपप्रमुख १७६ गरी कूल मतदाता २२९ रहेका छन् । मतदाताको मतभार भने फरक–फरक रहेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार एक प्रदेशसभा सदस्यको मतभार ४८ रहेकामा स्थानीय तहका एक पदाधिकारीको मतभार १८ रहेको छ । प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ३९, नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सदस्य छन् ।
प्रदेशबाट निर्वाचित हुने दुई राष्ट्रियसभा सदस्य पदका लागि चारको उम्मेदवारी परेको छ । महिलातर्फ नेकपाले शारदा भट्ट तथा अन्य समूहतर्फ तारामान स्वार र नेपाली काँग्रेसले महिला तर्फ तुलसी देवकोटा तथा अन्य समूहतर्फ प्रतापसिंह ठगुन्नालाई उम्मेदवार बनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस