रौतहटमा साम्प्रदायिक विवाद: दुवै पक्षबीच ६ बुँदे सहमति, तनाव सामान्यतर्फ
काठमाडौं-जिल्लाको गौर नगरपालिका–६ सवगढामा भएको साम्प्रदायिक विवादपछि दुवै पक्षबीच ६ बुँदे सहमति भएको छ । शनिबार साँझ जिल्ला प्रशासन कार्यालय रौतहटको पहलमा दुवै पक्षबीच ६ बुँदे सहमति भएको हो । सहमतिसँगै उक्त क्षेत्रमा उत्पन्न तनाव सामान्य बन्दै गएको प्रशासनले जनाएका छ । सहमतिमा सामाजिक सद्भाव कायम गर्ने, आपसी संयमता अपनाउने, कुनै पनि अफवाह नफैलाउने तथा आउँदो फागुन २१ गते हुने निर्वाचनमा शान्तिपूर्ण सहभागिता सुनिश्चित गर्ने लगायतका प्रतिबद्धता समेटिएको छन् ।
बिहीबार राति हिन्दु समुदायको विवाह जन्ती बाजा बजाउँदै मस्जिद नजिकबाट जाँदा मुस्लिम समुदायले नमाज पढिरहेका बेला बाजा बजाउन नहुने भन्दै अवरोध गरेपछि झगडा सुरु भएको थियो । बिहीबार राति देखिको सामान्य विवाद बढ्दै जाँदा शुक्रबार बिहान दुवै समुदायबीच झडप हुँदा डिजे समूहका सदस्यहरूलाई कुटपिट र ढुंगामुढा समेत भएको थियो ।
झडप नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । यस क्रममा ६ जना सर्वसाधारण घाइते भएका छन् भने प्रहरीका दुई जना पनि घाइते भएका थिए । घटनापछि शनिबार बिहानदेखि फेरी दुवै पक्षबीच पुनः झडप सुरु भई प्रदर्शनकारीहरूले भारतीय नम्बर प्लेटको एक गाडी र १२ वटा मोटरसाइकल तोडफोड र आगजनी गरेका थिए ।
त्यसपछि अहिले स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रौतहटले गौर–६ क्षेत्रका केही स्थानमा निषेधाज्ञा जारी गरेको थियो। घटनापछि गृह मन्त्रालयमा समेत सुरक्षा समितिको बैठक बोलाइएको थियो । साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित २५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका थिए । यसअघि बिहीबार राति सवगढामा विवाहको जन्ती मस्जिद अगाडि बाजा बजाउँदै जाँदा फरक समुदायबाट अवरोध भएपछि विवाद चर्किएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस