काठमाडौं - सरकारका पूर्वसचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको हत्या उनकै घरमा कार्यरत कामदारले गरेको पुष्टि भएको छ ।

सानेपास्थित कार्कीको घरमा जडान गरिएको सिसिटिभी फुटेजबाट कामदारका रुपमा कार्यरत दाङका २२ वर्षीय विजय चौधरीले मुनालाई आक्रमण गरेको देखिएको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

महाशाखा स्रोतका अनुसार फुटेजमा चौधरीले पछाडिबाट आक्रमण गरी लडाएको र घाँटी थिचेको पाइएको छ ।

सोमबार बिहान आफ्नै निवासमा अचेत अवस्थामा फेला परेकी मुनालाई उपचारका क्रममा  स्टार अस्पतालमा पु-याइए पनि तत्काल मृत घोषणा गरिएको थियो । यस्तै, कामदार चौधरी मुनाको हत्या गरेपछि डोरीमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए । चौधरीको शव डोरी चुँडिएर लडेको अवस्थामा भेटिएको ललितपुर प्रहरी जनाएको छ ।

पूर्वसचिव कार्की सोमबार पारेर बिहानै पशुपति दर्शन गर्न गएका थिए । उनी करिब ११ बजेतिर घर फर्किएपछि मात्रै उक्त विभत्स दृश्य देखेका थिए ।