काठमाडौं,विराटनगर - विष्फोटक पदार्थसहित  नेत्रविक्रम चन्द विप्लव समूह नेकपाका नेता पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा मोरङको मिक्लाजुंग गाँउपालिकामा स्थानीयसंग चन्दा असुल गर्दै गर्दा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चन्द समूहका पूर्वी कमाण्डका कम्पनी कमिश्नर विज्ञान राई समन, र काशीनाथ घिमिरे प्रतिक रहेका छन् । उनीहरुलाई प्रहरीले बुधबार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । १८ वर्षीय राई ईलाम चुलाचुली गाँउपालिका ६ र घिमिरे सप्तरीको सुरुंगा नगरपालिका २ का बासिन्दा हुन्।

घिमिरे विप्लव समूहको पूर्वी कमाण्ड मेची कोशी ब्यूरो चौथो कम्पनी कमिश्नर र राई पार्टी सदस्य रहेको प्रहरी उपरीक्षक खड्काले बताए ।

पक्राउ परेकाहरुको साथबाट हातहतियार खरखजाना, विष्फोटक पदार्थ, चन्द समूहको दस्तावेजका सामग्री समेत फेला परेको छ । प्रहरीले उनीहरुको साथबाट १ थान नालसहित भरुवा बन्दुक, त्यसमा प्रयोग हुने १ बट्टा फलामको टुक्रा, विष्फोटक पदार्थ जिलेटिन ३ किलोग्राम, सुतली बम २ थान, सकेट बम १ थान, टुकी बम १ थान, इलेक्ट्रिक डेटोनेटर ३५ थान, नन इलेक्ट्रिक डेटोनेटर १८ थान, लाईटर ६ थान, १२ भोल्टको ब्याट्री १ थान र गन पाउडर र बारुद ४ बट्टा बरामद गरेको छ । त्यस्तै, १५ हजार रुपैयाँसहित प्रहरीले सेफ्टी फ्युज तार ३८ मिटर, बिजुलीको तार ९० मिटर, १० थान मोबाइल, खुकुरी ४ थान, दाउ १ थान, नेपाल टेलिकमको ७ वटा र एनसेलको २ वटा सिमकार्ड फेला पारेको छ ।