काठमाडौं - देशभरका एक सय २३ स्थानीय तहबाट चार हजार आठ सय ५२ शिक्षक दरबन्दी तथा राहत अनुदान कोटा अन्य स्थानीय तहमा हस्तान्तरण हुने भएको छ । कतै शिक्षकको अभाव र कतै आवश्यकताभन्दा बढी भएपछि सरकारको निर्णयअनुसार दरबन्दी तथा अनुदान कोटा अन्य जिल्लाका स्थानीय तहमा हस्तान्तरण गर्न लागिएको हो ।

सम्बन्धित जिल्लाका स्थानीय तहमा मात्र होइन, फरक जिल्लाका स्थानीय तहमा समेत दरबन्दी तथा राहत कोटा हस्तान्तरण हुने शिक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

१४ जिल्लाका तीन हजार तीन सय ५९ शिक्षक दरबन्दी तथा राहत अन्य जिल्लाका स्थानीय तहमा हस्तान्तरण हुनेछ । १५ जिल्लाभित्र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा एक हजार चार सय ९३ दरबन्दी तथा राहत कोटा मिलान हुने शिक्षामन्त्री गिरीराजमणि पोखरेलले जानकारी दिए ।

शिक्षकको अन्तरप्रदेशसमेत मिलान हुने उनको भनाइ छ । ‘एक सय पाँच दरबन्दी तथा राहत अनुदान कोटा एक प्रदेशबाट अर्को प्रदेशको स्थानीय तहमा हस्तान्तरण हुनेछ,’ मन्त्री पोखरेलले भने ।  

नयाँ पत्रिकाबाट